Go Back

How to say 'तपाइँ' in Korean Language?

LKWB
2023-04-08
3871
KIIP Level Test Word Book, 사회통합프로그램 사전평가 단어장

कोरियन भाषामा 'तपाइँ' भन्न '당신' को प्रयोग नगर्नुहोस्।

कुनै पनि भाषामा आफुले कुरा गर्दै गरेको दोस्रो व्यक्तिलाई सम्बोधन गर्न विभिन्न प्रकारका शब्दहरु हुन्छन्। नेपाली भाषामा 'त, तिमी, तपाइँ, हजुर' भए झैँ अंग्रेजी भाषामा 'you' भनेर दोस्रो व्यक्तिलाई सम्बोधन गरिन्छ। त्यसै गरि कोरियन भाषामा पनि '너, 당신' जस्ता शब्दहरु छन्। सामान्यतया नेपालमा इन्स्टिटिटुटहरुमा "आफुभन्दा मान्यजनहरुलाई आदर सम्मान गरेर 'तपाइँ' भनेर भन्नलाई '당신' शब्दको प्रयोग गर्नुस्" भनेर पठनपाठन गराएको पाइएको छ।  

तर यदि कोरियामा केहि समय बिताएर कोरियनसँग बोलीचाली गरेको जो कोहिलाई सोधे पनि '당신' शब्दले 'तपाइँ' जनाउदैन भनेर सजिलैसँग भन्ने गर्छन्। हामीले टिकटकमा "당신 ले तपाइँ जनाउदैन!" भन्ने भिडियो २ वर्ष जति अगाडि बनाएको थियौ। त्यसमा EPS पास गरेर कोरिया गैसकेका साथीहरुले गरेको केहि कमेन्टहरु तपाइहरु सामु राख्दछु। "सर, मैले यहाँ मेरो साहुलाई 당신 भनेको थिए। कहाँबाट सिकिस यस्तो भाषा? भनेर पो भन्यो मलाई। 당신 शब्द त आदर गर्दा प्रयोग गरिने शब्द हैन रैछ।"

अनि अर्को एउटा साथीले गरेको कमेन्ट यस्तो थियो। ""सर, मैले मेरो साहुलाई 당신 भनेको थिए, बुढाले त मलाई जा गएर तरुनीलाई भन् त्यस्तो शब्द भनेर भन्यो। खासमा आदर गरेर भन्दा कुन शब्द प्रयोग गर्ने हो सर? प्लिज बताई दिनु न।"

यी कमेन्टहरुबाट 당신 शब्दले आदर जनाउदैंन भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ। त्यसो भए 당신 शब्दको वास्तविक अर्थ के हो त? कोरियन भाषाको शब्दकोष अनुसार 당신 को अर्थ:

1 듣는 이를 가리키는 이인칭 대명사. 하오할 자리에 쓴다. 

2 부부 사이에서, 상대편을 높여 이르는 이인칭 대명사.

3 문어체에서, 상대편을 높여 이르는 이인칭 대명사.

परिभाषा नं १ र ३ अनुसार दोस्रो व्यक्तिलाई आदर गर्दा प्रयोग गर्ने शब्द भन्ने अर्थ नै आउछ। तर आजकल परिभाषा नं २ को प्रयोग धेरै भएको पाइन्छ। अर्थात श्रीमान-श्रीमतीले एकअर्कालाई बोलाउदा प्रयोग गरिने अर्थमा 당신 प्रयोग हुने गरेको पाइन्छ। र अपरिचित व्यक्तिसँग कुनै कारणले झैझगडा गर्दा पनि 당신 को प्रयोग गरिएको पाइन्छ। उदाहरणको लागि दुइओटा गाडि बाटोमा ठोक्कियो भने, अब दुजना झगडा, भनाभन गर्दा '당신 잘못이잖아요", अर्थात "तपाईको गति हो नि त!" भन्ने अर्थमा 당신 को प्रयोग गरिन्छ। 

त्यसो भए दोस्रो व्यक्तिलाई आदर गर्दा के भनेर सम्बोधन गर्ने त? "तपाई, you  र 당신" भनेका सर्वनामहरु हुन्। कोरियन भाषामा  दोस्रो व्यक्तिलाई सम्बोधन गर्दा  सामान्यतया सर्वनामको प्रयोग गरिदैन। सर्वनामको सट्टामा सम्बोधन गर्नु पर्ने व्यक्तिसँगको आफ्नो सम्बन्ध (형, 누나, 오빠, 이모, 할아버지, 할머니 इत्यादि) वा जागिर वा काम गर्ने ठाउँमा भए त्यो व्यक्तिको पद, ओहोदा (사장, 부장, 과장, 대리, 이사, 교수, 선생 इत्यादि) को प्रयोग गरेर सम्बोधन गरिन्छ। र यो ओहोदाको पछाडी '님' थपेर त्यो ओहोदाको व्यक्तिलाई आदर दर्शाइन्छ। जस्तै: 사장님, 부장님, 과장님, 대리님, 이사님, 교수님, 선생님 इत्यादि। याद गर्नुस्: कोरियामा आफ्नै सक्केता दाइ, दिदि नभएता पनि आत्मियताको लागि  कोरियनहरुलाई दाइ, दिदि भनेर '형, 누나, 언니' भन्ने गरिन्छ। 

अब त्यसो भए आफ्नो साहुलाई "तपाइँ कफी खानु हुन्छ?" भनेर भन्नलाई 'तपाइँ' भन्ने शब्द भएको स्थानमा '사장님' भन्ने शब्द राख्नुस् र भन्नुस्: '사장님은 커피 드시겠어요?" यसरी: "당신은 커피 드시겠어요?" भनेर नभन्नुस्।

त्यसै गरि यदि दाइलाई, 'तपाईलाई के मन पर्छ?" भनेर सोध्नु परेमा "당신은 뭐 좋아해요?" भन्ने हैन। "형은 (वा 오빠는) 뭐 좋아해요?" भनेर भन्नु पर्दछ। कोहि व्यक्तिसँग पहिलो भेट हुदा कोरियनहरुले "몇 살이야?" वा "나이가 어떻게 돼?" भनेर उमेर सोध्ने गर्छन्। उमेरमा को ठुलो र को सानो रैछ भनेर जान्न र त्यसपछि त्यै अनुसारको आदरको भाषा प्रयोग गर्ने कि ठाडे भाषा प्रयोग गर्ने भन्ने तय गर्नको लागि यसरी उमेर सोध्ने गरिन्छ। त्यसैले कोरियामा कोरियनहरुले पहिलो भेटमै उमेर सोध्यो भने आश्चर्य नमान्नुहोस्।

त्यै सिलसिलामा पहिलो भेटमा त्यो व्यक्तिको उहोदा पनि थाहाँ भएन र सम्बन्ध पनि स्पष्टसँग छुट्याउन सकिएन भने, "제가 뭐라고 부르면 돼요?" भनेर त्यो व्यक्तिलाई सोध्नु होला। अर्थात "मैले के भनेर बोलाउदा हुन्छ?" भन्ने अर्थ लाग्दछ। अनि त्यो दिनदेखि त्यो व्यक्तिलाई त्यै शब्दले सम्बोधन गर्नु होला। जस्तै: "너는 나이가 너무 어려서 삼촌이라고 해" अर्थात "तेरो उमेर एकदम कम भएकोले मलाई काका भन्" भन्ने अर्थ लाग्दछ। त्यसो भए अबदेखि त्यो व्यक्तिलाई 삼촌 भनेर सम्बोधन गर्नु होला। 

त्यसैले कोरियामा 'तपाइँ' जस्ता सर्वनामको सट्टामा त्यो व्यक्तिको ओहोदा वा त्यो व्यक्ति सँगको सम्बन्धको शब्द प्रयोग गर्नु होला।